RURAL EYE CLINIC (ग्रामिण आँखा क्लिनिक) : आवश्यकता, अवसर र तत्परता


विचार, विश्लेष्ण

पुष्पबाबु बस्नेत (Pushpa Babu Basnet) 


दुर्गम हिमाली जिल्ला सोलुखुम्बुमा स्वास्थ्य सेवाको समुचित उपभोगको अभावमा र विभिन्न कठिनाइहरुले गर्दा आम समुदायले स्वास्थ्य सेवा पाइरहेका छैनन । यसको पहुँच जिल्लाका हरेक स्थानमा हुनुपर्ने अनिवार्यता भएता पनि स्थानिय स्तरमा सेवा प्रवाहलाई प्रभावकारी तवरले विस्तार गर्न ब्यवस्थापन गर्न सकिएको छैन । स्वास्थ्य सेवाको पहुँच स्वास्थ्य सम्बन्धि हक अन्तरगत प्रत्येक नागरिकलाइ राज्यबाट स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक र कसैलाइ पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित नगर्न हाल सोलुखुम्बु जिल्लामा प्राप्त पुर्वाधार, स्वास्थ्य सेवा, सहयोगी उपकरण र जनशक्तिले मात्र नपुग्ने पक्का छ । समग्र स्वास्थ्य सेवाको कुरा आइरहदा गांउपालिका तहमा नै आँखा स्वास्थ्य सेवाको आबश्यकता पनि रहेको देखिन्छ ।

आँखा स्वास्थ्य सेवाको अवस्थालाई फर्केर हेर्दा सोलुखुम्बु जिल्लामा आँखा उपचार सेवाको सुरुवात हुनु भन्दा अगाडि आँखा सम्बन्धि कुनैपनि विशेष किसिमको सुविधा नरहेको र सम्पन्न आँखाका विरामीहरु ठूलो धनराशी खर्च गरी उपचारको लागि काठमाण्डौं र देशका अन्य आँखा अस्पतालसम्म जाने गर्थे भने, ठुलो संख्यामा रहेका निम्न आयस्तर तथा असहाय विरामीहरु दृष्टिविहिन भई बस्न विवश थिए । कतिपय त आँखाको समस्या भएमा उपचार गराउन नसकि न्यून दृष्टि र दृष्टि विहिन भएर बस्न विवश थिए ।

यिनै पक्षहरुलाई मध्यनजर गर्दै विश्व स्वास्थ्य संगठनको नारा “दृष्टि सबैको अधिकार”लाई मूर्तरुप दिदै जिल्ला सामुदायिक आँखा केन्द्र मार्फत आँखा सेवालाई ग्रामीण तथा दुर्गम क्षेत्रसम्म पुु¥्याउन नेपाल आँखा कार्यक्रम, तिलगँगा आँखा प्रतिष्ठानको शाखाको रुपमा सन् २००३ बाट सोलुखुम्बु जिल्लाको जिल्ला स्वास्थ्य कार्यालय परिसर भित्र हिमाली स्वास्थ्य तथा वातावरण सेवा सोलुखुम्बु सँगको सहकार्यमा, स्थानीय संघ संस्थाहरु तथा हिमालयन क्याटा¥याक्ट प्रोजेटको सहयोगमा जिल्ला सामुदायिक आँखा केन्द्र सञ्चालन भईरहेको छ । स्थापना कालदेखि हालसम्म यस केन्द्रले सन २०१८ सम्ममा ८७ हजार भन्दा बढि विरामीहरुलाई आँखा सेवा प्रदान गरिसकेको छ भने १,४२३ जनालाई मोतिविन्दुको अपरेशन गरि पुःनदृष्टि प्रदान गरिसकेको छ । यदपि आँखा सेवा जिल्लाको ग्रामिण तहसम्म पुग्न सकेको छैन । अतः गाँउपालिका तहसम्म प्रभावकारी तवरले आँखा उपचार सेवा विस्तारको लागि सम्बन्धित गाँउपालिकाले नैै आफ्नो स्वामित्व लिई सेवा बिस्तारको लागि पहलकदमी अघि बढाउनुपर्ने देखिन्छ ।

आँखामा धेरै कारणले गर्दा विभिन्न समस्याहरु देखिन्छ । कतिपय समस्याको कारण समयमा उपचार नपाएको अवस्थामा आँखाले सदा सदाको लागि दृष्टि गुमाउनु परेको धेरै उदाहरणहरु छन् । मोतिविन्दु, जलविन्दु, आँखाको विभिन्न भागहरुमा हुने संक्रमण, दृष्टि दोष, चोटपटक, शारीरिक रोगहरु आदि दृष्टि विहिन गराउने रोगहरु हुन । धेरै जसो आँखाको समस्याहरु शुरुवाती अवस्थामा नै उपचार पाएको खण्डमा औषधि, शल्यक्रिया वा चश्माको माध्यमबाट समाधान गर्न सकिन्छ । आँखाको समस्या बच्चा जन्मदै देखि बृद्घ अवस्थासम्म हुन सक्छ ।

स्वास्थ्य क्षेत्रमा भएका सर्वेक्षण अनुसार अन्धोपन र न्यूनदृष्टि जनताको स्वास्थ्य समस्याको रुपमा पाईएको छ । त्यस्तै नेपाल अन्धोपना सर्वेक्षण १९८१ र RAAB सर्वेक्षण २०१० अनुसार देशको कुल जनसंख्याको झण्डै १ प्रतिशत मानिसहरुमा अन्धोपनाको समस्या पाइएको छ । त्यसमध्ये ९० प्रतिशत अन्धोपना भएका मानिसहरु ग्रामिण तथा दुर्गम स्थानहरुमा बसोबास गर्दछन् । उक्त सर्वेक्षणलाई आधार मान्ने हो भने नेपालका दुरदराजमा रहेको जम्मा जनसंख्यामा समेत ३१ प्रतिशतमा आँखाको कुनै न कुनै समस्या छ भने ३५ वर्ष उमेर काटिसकेको जनसंख्याको ६० प्रतिशत जनसंख्यामा नजिकको दृष्टि क्षमता बढाउन चश्माको आवश्यकता पर्दछ । समस्या भएका मध्ये १२ प्रतिशतमा न्यून दृष्टिको समस्या र ०.८४ प्रतिशतमा दृष्टिविहिनताको समस्या रहेको छ । 

दृष्टिविहिन भएका मध्ये ६५ प्रतिशत दृष्टिविहिन मोतिविन्दुको कारण भएका र जम्मा जनसंख्याको १० प्रतिशतमा दृष्टि दोषको समस्या भएको यथार्थलाइ नकार्न सकिदैन । 

जिल्ला सामुदायिक आँखा केन्द्र सोलुखुम्बुको पछिल्लो सन 2018 को तथ्यांक अनुसार दृष्टि दोष (Error of Refraction) को समस्या ३१ % प्रतिशतमा, आँखा पाक्ने रोग  को समस्या २० प्रतिशतमा, नजिकको चश्मा लगाउन’पर्ने समस्या  ११ प्रतिशतमा, आँखाको कन्जन्टाईभाको समस्या ( ५.७ प्रतिशतमा  र बाँकीमा अन्य समस्या मोतिविन्दु, आँखाको ढकनीको समस्या, आँखाको नानीमा फुलोपर्ने, आँशुथैलिको समस्या, सुख्खा आँखा, चोटपटक, आँखाको अन्य भागहरुको संक्रमण, दृष्टि पर्दा तथा दृष्टि नशाको समस्या, न्यून दृष्टि र अन्य विभिन्न समस्या लिएर आँखा उपचारमा आउनेको सख्या रहेको छ

 

त्यसै गरि बाल अन्धोपना पनि एक समस्याको रुपमा रहेको छ । बाल बालिकामा हुुने अन्धोपनाको समयमै उपचार गरिएन भने अल्छे आँखाको रुपमा विकास भइ उपचार हुन असंभव हुन्छ । जसले देश र स्थानिय स्तरमा नै शैक्षिक, आर्थिक र सामाजिक रुपमा नकरात्मक असर पारिरहेको हुन्छ । जसमध्ये दृष्टि दोष एक प्रमुख समस्या हो । सुधार नगरिएको दृष्टि दोषको कारण पनि धेरै बालबालिकामा न्यून दृष्टि तथा दृष्टि विहिनताको समस्या रहिरहेको छ । यि सबै समस्या भएकाहरु मध्ये ७० प्रतिशत भन्दा बढि जनसंख्या ग्रामिण भेगमा रहेको र त्यहाँ आँखा उपचार सेवाको संरचना नहुनुका साथै आँखा उपचारको क्षेत्रमा काम गर्ने मानव संसाधन समेत काठमाण्डौ र ठुला ठुला शहरहरुमा रहेकोले सोलुखुम्बु जिल्ला लयायतका जिल्लाहरुमा अत्यन्तै कम संख्यामा प्राविधिकहरु रहेता पनि गाँउपालिकाहरुमा यो संख्या प्राय शुन्य रहेको छ । तसर्थ जिल्लाको ठूलो जनसंख्या आँखा उपचारको सेवाबाट बञ्चित रहेको छ । 

यि सबै समस्यालाई पहिचान गरि समाधान गर्न जिल्लामा रहेको एक मात्र आँखा उपचार केन्द्र र बेला बेलामा संचालिन भइरहेका आँखा शिविरबाट ग्रामिण क्षेत्रमा बसोबास गर्ने आम जनसमुदायमा सेवा पुग्न सकिरहेको छैन । हाल सम्म केन्द्रिय र प्रादेशिक सरकारबाट सरकारी तबरमा आँखा उपचारको सेवा कहि पनि स्थाइ रुपमा संचालन गर्न नसकिरहेको अवस्थामा र जिल्लामा उपलब्ध जनशक्ति पनि प्रयाप्त नभएको कारण गाँउपालिकाको आफ्नै सक्रियतामा छुट्टै आँखा उपचार केन्द्रको (ग्रामिण आँखा क्लिनिक) आवश्यकता छ । 


हाल जिल्लाको एक ठाउमा मात्र सिमित रहेको आँखा उपचार सेवालाइ सम्बन्धित गाँउपालिका भित्रका आम समुदायहरुमा नै आँखा सेवा सम्बन्धि प्रर्वधनात्मक, उपचारात्मक, रोकथामात्मक र पुर्नस्थापनाको ब्यवस्था सकिनेछ । क्लिनिकमा आवश्यक पर्ने दक्ष जनशक्ति (नेत्र सहायक, आँखा स्वास्थ्य कार्यकर्ता, अप्टिकल डिस्पेन्सर तथा अन्य) को लागि तालिमको ब्यवस्था गराइ आवश्यक उपकरण तथा सामाग्री सहितको ग्रामिण आँखा क्लिनिकको ब्यवस्थापन गर्ने, आवश्यक पर्ने चश्मा तथा औषधिको ब्यवस्था गरि सर्वशुलभ मुल्यमा प्रदान गर्नका साथै सम्बन्धित गाँउ स्तरमा विशेषज्ञ सेवा आवश्यक परेमा आँखा केन्द्रसंग समन्वय गरि उपचार सेवा प्रदान गर्न सकिनेछ । यसका अलवा गाँउपालिकाका सवै सरोकारवाला निकाय, स्वास्थ्यकर्मी, विद्यालयका शिक्षक र स्वयमसेविकाहरुको लागि आँखा स्वास्थ्य सम्बन्धि तालिम तथा अभिमुखिकरण कार्यक्रमको ब्यवस्थापन गर्ने, ग्रामिण आँखा क्लिनिक ब्यवस्थापन समिति बनाउने र ग्रामिण आँखा क्लिनिकको दिर्घकालिनताको लागि आवश्यक आर्थिक विकासका योजना बनाउनका साथै आवश्यक आँखा सेवा थप विस्तार, स्तरोन्नर तथा दिर्घकालिन योजना बनाउन सकिने संभावना उत्तिकै बलियो छ ।

 सम्बन्धि गाँउपालिकामा २०७६ साल भित्र ग्रामिण आँखा क्लिनिकको स्थापना गरि २ वर्ष भित्र सबै विद्यालयका बालबालिका र ५ वर्ष भित्र सबै जनसंख्यामा आखा परिक्षण र उपचारको ब्यवस्था गरि अगिल्ला दिनहरुमा विशेष सेवाको साथ निरन्तरता दिने र सम्बन्धित गाँउपालिका भित्रका आम समुदायमा आँखा उपचार सेवाको ब्यवस्था गरि गुणस्तरिय सेवा दिदै उपचार र रोकथाम गर्न सकिने सबै खालका दृष्टिविहिनहरुको संख्या घटाउने उक्त क्लिनिकको लक्ष्य र उदेश्य हुनुपर्दछ । ग्रामिण आँखा क्लिनिकको माध्यमबाट प्रभावकारी आँखा स्वास्थ्य तथा उपचार सेवामा आम समुदायको पहँुचमा हुनेछ भने सामुदायिक सहभागिता र समन्वयको माध्यमबाट आँखा स्वास्थ्य सेवा प्रवर्धन गर्न मद्दत पुग्ने, स्थानिय स्तरमा नै गुणस्तरिय आँखा स्वास्थ्य तथा उपचार सेवामा आवश्यक सुधार हुने, आँखा स्वास्थ्य सम्बन्धि जनचेतना बृद्वि हुने र गाँउपालिकाको आफ्नो नैतिक दायित्व पुरा हुनुको साथै आर्थिक – सामाजिक विकासमा टेवा पुग्नेछ ।

मानव संसाधनमा गाँउपालिका तहमा नै आँखा उपचार सेवा प्रदान गर्न ग्रामिण आँखा क्लिनिक स्थापना तथा संचालनको लागि तालिम प्राप्त नेत्र सहायक वा आँखा स्वास्थ्य कार्यकर्ता मध्ये कुनै १ जना र अप्टिकल डिस्पेन्सर वा हेल्पर १ जनाको आवश्यक पर्दछ भने क्लिनिकका लागि आवश्यक पर्ने कोठाहरु वा छुट्टै भवन, आवश्यक उपकरणहरु, चश्मा तथा औषधि लगायतको ब्यवस्थापन गाँउपालिका तहमा नै गर्न सकिन्छ । पहिलो चरणमा आवश्यक पर्ने भौतिक पूर्वाधारको ब्यवस्थापन गाँउपालिकाले आन्तरिक कोषबाट वा बाहय दाता मार्फत गर्ने र ग्रामिण आँखा क्लिनिक संचालनका लागि आर्थिक स्रोतको ब्यवस्था गर्न क्लिनिक शुरु भए पछि स्थानिय तहले जगेर्ना पूँजी (SEED FUND) को ब्यवस्थापन गरि चश्मा र औषधिको ब्यवस्थापन गर्न सकिनेछ । क्लिनिकलाई निरन्तरता दिन र दिगोपना गराई राख्न बिरामीको नाम दर्ता, विशेष परिक्षण, शल्यक्रिया, चश्मा र औषधि विक्री, अन्य दातृ संस्थाबाट प्राप्त सहयोग र थप आन्तरिक कोषबाट समेत गरि कार्यालय संचालन र प्राविधिकहरुको पारिश्रमिकको ब्यवस्थापन गर्न सकिन्छ । स्थानिय तहले गाँउपालिका भित्र रहेको शैक्षिक संस्थाहरुमा अध्ययनरत बालबालिकाहरु, ६५ वर्ष माथिका समुदाय, एकल महिला, अपाङ्ग, महिला स्वंयसेविका, अति गरिव तथा विपन्न समुदायहरुलाई लाग्ने चश्मा तथा मोतिविन्दु अपरेशनको शुल्कको ब्यवस्थापन गर्न सकिन्छ ।

ग्रामिण आँखा क्लिनिकलाई चुस्त दुरुस्त राख्न र दिगो रुपमा कायम गराई राख्नका लागि ग्रामिण आँखा क्लिनिक ब्यवस्थापन समिति बनाउने, जिल्ला सामुदायिक आँखा केन्द्र र गाँउपालिका दुवै संस्थाले ग्रामिण आँखा सेवा सञ्चालनको विनियम (आर्थिक तथा प्रशासनिक) बनाउनुको साथै आँखा सेवा विस्तारको लागि अनुमानित बजेट विनियोजन गर्ने, आँखा सेवाका दिर्घकालिनताको लागि दुवै संस्थाको सहमतिमा सर्वशुलभ शुल्क निर्धारण गर्ने, कार्य सम्पादन पछि बार्षिक रुपमा भएका आर्थिक तथा कार्यक्रमका सम्पुर्ण अभिलेखहरु दुबै संस्था बिच आदान प्रदान गर्ने, आँखा सेवाको बार्षिक कार्यक्रमको प्रगति विवरण सरोकारवालाहरुसंग बैठक गर्ने, ग्रामिण आँखा क्लिनिकको दिर्घकालिनताको लागि आवश्यक आर्थिक विकासका योजना बनाउने, गाँउपालिका स्तरमा आँखा सेवाको बारेमा समिक्षा बैठक राख्ने र ग्रामिण आँखा क्लिनिक सञ्चालन निर्देशिका बनाउने जस्ता अन्य कार्यहरु र ब्यवस्थापन गर्न सकिन्छ । 

Ophthalmologist from Tilganga Institute of Ophthalmology performing cataract surgery at rural Solukhumbu. 


अन्तमा, हाल कायम गरिएका स्थानिय तहका सबै वडा स्तर सम्म जनसंख्या र भूगोलको हिसाबले स्वास्थ्य सेवामा समान वितरण नहुनुले नेपालको संविधान २०७२ ले जनताको मौलिक अधिकार र स्थानिय तहका लागि दिएको अधिकारलाइ सदुपयोग गर्र्दै सोलुखुम्बु जिल्लामा रहेका स्थानिय तहका आम नागरिकहरुको आँखा स्वास्थ्य सेवामा समान पहुँच पुर्याउने उदेश्य अनुरुप गाँउपालिकाको हालको आँखा स्वास्थ्य अवस्थाको अध्ययन, विश्लेषण गरि स्थानिय तहमा नै ग्रामिण आँखा क्लिनिकको समेत गुरु योजना बनाइ सेवा विस्तार गर्न आवश्यक देखिएको छ ।  

लेखक नेपाल आँखा कार्यक्रम, जिल्ला सामुदमायिक आँखा केन्द्र, सोलुखुम्बुका नेत्र अधिकृत हुनुहुन्छ ।

सन्दर्भ सामाग्री संकलनः 
१) नेपाल अन्धोपना सर्वेक्षण १९८१
२) RAAB सर्वेक्षण २०१० 
३) वार्षिक प्रगति प्रतिवेदन, जिल्ला सामुदायिक आँखा केन्द्र, सोलुखुम्बु